आदिनाथ र सिद्धिपुर थसी

आदिनाथ र सिद्धिपुर थसी
नन्द बहादुर महर्जन थसीमी
चोभार हिजो आज आन्तरिक
पर्यटकको लागि मात्र नभई बाहिरिय पर्यटकको लागि पनि अवलोकन र पदयात्राको लागि
महत्वपूर्ण गन्तब्य स्थान बन्दै गएको छ भन्दा केहि फरक नपर्ला | उपत्यकाको पश्चिम काठमाडौंको चक्रपथको बल्खु बाट
करिब दुई किलोमिटर र रत्न पार्क बाट चार किलोमिटरको दूरीमा अवस्थित कृतिपुर नगर
पालिकाको वडा न. ६ मा अवस्थित चोभार क्षेत्र र यस क्षेत्रमा रहेका मन्जुश्री गल्छी
, मन्जुश्री गुफा, मन्जुश्री पार्क तथा जल विनायक मन्दिर
पुरातात्विक , सांस्कृतिक , ऐतिहासिक तथा धार्मिक दृष्टिले जति महत्वपूर्ण छ
उति नै महत्वपूर्ण छ चोभारको प्राचिन आदिनाथ र आदिनाथको मन्दिर |
स्वयम्भु पुराण अनुसार
द्वापर युगको अन्त्यमा कालिदहको नामले चिनिने काठमाण्डौ उपत्यकाको बिशाल दहको
पानीलाई तिब्बेत (Tibet) बाट घुम्न आउनु भएका महामानव मन्जुश्री देवीले आफ्नो खड्गले चोभारको
डांडा काटेर पानी बाहिर पठाई उपाशकहरूलाई बस्न योग्य भएको किम्बदन्तीको आधारमा यस
ठाउलाई मानब सभ्यताको उद्गमस्थल मानिदै आइरहेको कुरा हामि सबैलाई थाह भएकै कुरा हो
| बस्ती बस्न लायक भैसकेपछि
महामानव महामन्जुश्रीले गर्नु भएको आँट र सहासको योगदानलाई स सम्मानजनक कदर गर्दै
उपाशकहरूले पहाडको शिर्ष स्थानमा तिब्बती बाख्राको नाम बाट “ भगवान च्यान्ग्रसिन (Chyangrasin
)” स्थापना गरिएको थियो र पछी
बिस्तारै सो विहार ( बहा )मा परिणत भइ हिन्दु र बौद्धहरूको आस्थाको केन्द्र
बन्नेको हो भन्ने जन कथन छ | लिच्छवीकाललाई सत्य युग र स्वर्ण युग पनि भन्ने गरिन्थ्यो | लिच्छवीकालको राज्यकालमा भगवान च्यांग्रासिन लाई
स्थानीयवासीले पहेंलो देवता “ ( म्हासुम ख्वा : द्धयो ), बसुन्धारा माजु ” को नामबाट चिनिन थाल्यो किन कि सुनै सुनले भरिएको पहाडमा पहेंलो
रङ्गकै अनुहारमा विराजमान हुनु भएकोले सो पहाडको नाम स्वर्ण गिरि पहाड नामकरण
गरिएको र सोहि पहाडको नाम र स्वर्ण युगको समयमा स्थापन गरिएको हुदा स्वर्ण गिरि
कछ्पाल महाविहार नामाकरण गरिएको हुन् सक्ने कुरा स्थानीय जेष्ठ नागरिकहरू सुनाउनु
हुन्छ |
हिजो आज मन्जुश्री पार्कले
प्रख्यात भएको चोभार वास्ताबमा पहिला चोभार नभई च्व: बहा नाम बाट प्रचलित थियो | काठमाडौं उपत्यका भित्र(पाटन र कृतिपुरमा )जति पनि
बहा: बहि:हरू छन् ति बहा : बहि : भन्दा धरै उचाईमा रहेको बहा : भएको हुनाले यसलाई
च्वे च्वंगु बहा : भनिएको हो भने कुरा स्थानीय जेष्ठ नागरिकहरू सुनाउनुहुन्छ | नेपाल भाषामा “ च्वे : ” भनेको नेपालीमा “ माथि ” र ” बहा: ” भनेको “
बहाल “ हो ,
“ च्वे: च्वंगु : बहा “ (माथिको बहाल ) भन्ने
बुझिन्छ | त्यही शब्द पछि अपभ्रंस भएर च्व:बहा ....च्व:भा..,च्व:बहा..चोभार
हुन् गएको मानिन्छ |
च्व: बा
द्द: , आदिनाथ , आनान्दादी लोकेश्वर, आर्यनाथ,र महादेवपार्वती ह्याउँख्वा:द्द,ह्याउँख्वा: आजु जस्ता बिभिन्न प्रख्यात नामबाट
चिनिने यस आदिनाथको बारेमा कहाँ बाट कहिले र कसरी स्थापना भयो भने बारेमा हाल सम्म
कुनै पनि बंशाबली, शिलालेख
र अभिलेखहरू भेटिएका छैनन् | बिज्ञहरूको भनाई अनुसार स्वयम्भु पुराणमा आदिनाथको बारेमा थोरै
मात्रामा उल्लेख गरिएको भेटिएका छन जस्मा स्थानीयवासी तथा स्वर्ण गिरि कछ्पाल
महाविहारको पाँच जना आजु मध्येको एक जना आजु श्रीइन्द्र बहादुर शाक्यको अनुसार “ आनान्दादी लोकेश्वर च्व: बहामा विराजमान “ भनेर मात्र उल्लेख गरिएको पाइएको छ
आदिनाथ देवताको उत्पति
सम्बन्धि , कहाँबाट,कसरी र कहिले स्थापाना भयो भने बारेमा उति धेरै
किवदन्ती र अभिलेखहरू भेटाउन नसके पनि बिभिन्न समयमा बिभिन्न पत्र पत्रिकामा आ
आफ्नो भनाई र तर्कहरूले पुस्टि गर्न कोशिस गरेका धेरै लेखहरू हामीले पढ्ने गरेका
छौ | उता Jhon Locke ले १९८० मा
karunamaya Kathmandu ,Research center for Nepal and Asian Studies को पेज नम्बर ३५० – ३५१ मा १५ औं शताब्दीमा बनेको र पछी १६४० मा
जिर्णोद्वार गरिएको भनेर उल्लेख गरिएको छ | १५ औं शताब्दीमा बसुन्धारा माजु
(म्हासुम द्दयो ) को मन्दिर बनेको हुन् सक्ने स्थानीयवासीहरुको बुझाइ छ र कसै कसैले आदिनाथको चोरी भैसकेको कुरा पनि
उल्लेख गरेका छन् , बास्तबमा आदिनाथ अहिले सम्म चोरी भएको कुरा
कहिँ कतै उल्लेख गरेको भेटेको छैन र सुनेको पनि छैन ,चोरी त च्यान्ग्रसिन (Chyangrasin
)” बसुन्धरा माजु म्हांसुम द्योको भएको थियो |
बिभिन्न लेखहरूमा आदिनाथ कहाँ बाट कसरी चोभारमा पुग्यो भने कुराको
पुस्तिको लागि उल्लेख गरिएका ठोस आधार र प्रमाणहरूको बारेमा अझ धेरै अध्यन र अनुसन्धान गर्नु जरूरी
देखिन्छ | त्यस
मध्ये अर्जुन महर्जन द्वारा सहिद साप्ताहिक उल्लेख गर्नु भएको लेख अनुसार
आदिमकालमा नेपाल सुप्रभा नगर हाल
थानकोट राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर
भन्ने दुई छोरा र प्रभाबती नाम गरेकी एउटी छोरी थिइन् | कच्छपासुरले बहिनीको जलक्रिडाको लागि पोखरी
बनाउँछु भनि चोभार गल्छीमा सुतेर नेपाल मण्डलालाई जलमय तलाउ बनाइदिएका थिए | एक रात प्रभाबतिले प्रधुमनलाई स्वपनमा दर्शन
मिलेबाट मुग्ध भई श्री कृष्णको छोरा प्रधुमनलाई वरण गरेकी थिइन् | नारद द्वरा प्रभाबतीको खबर पाएर दानासुरसंग लडाई
गरी मारी प्रभाबतीसंग विबाह गरेका थिए \ भगवान श्रीकृष्णले नेपाल खोल्न भनि चोभार न्हसीकापमा सुदर्शन चक्र
प्रहार गरी नेपाल खोल्नु भयो |जलमा सुतेको कच्छपासुरलाई मारी प्रधुमनले दृष्टारत्न मणि लिनु भयो | जलमा दैत्य संग युद्ध गर्ने भएका श्री गणेशलाई
जल्बिनायक नाम राखी स्थापना गर्नुभयो | त्यतिबेला गणेशको प्राथानाले बासुकी नाग स्वरूप भई
संगै बस्नु भएको छ | चोभार
कच्छपालको शरीर भएकोले कर्म गिरी कच्छपाल पर्बत भनि आएको छ | प्रभाबतीय तिर्थ नख्खु खोला : बुहारी प्रभाबतीले
दाजु कच्छपासुरलाई पवित्र पार्न गरेको आरधना अनुसार श्रीकृष्णले वरदान दिई
कच्छपासुरलाई पबित्र पार्न प्रभाबती नख्खु खोला भई र कच्छपासुरलाई पवित्र पारिन | यो चोभारको उतार पुर्ब रहेको बागमतीको सुलक्षण
तिर्थ सुन्दरीघाट पाटनको (प्रभावती) नख्खु खोलाको संगम दोभान ठुलो तिर्थ हो |बागमती किनारमा बालकुमारी रहेको छ यसैलाई
प्रभाबतीय तिर्थ वा जय श्री तिर्थ भन्दछन् | यसै प्रभाबतीय तिर्थमा पानी सुक्दै गए पछी चैत्र
शुक्ल अष्टमीको दिन देवताको मुर्ति फेला परेको र त्यसै दिन बाजा गाजाका साथ्
चोभारमा लागि बहालको मन्दिरमा विराजमान गराएको भने कुरा उल्लेख गरेको छ | यसमा पनि अलि कति सत्य र तथ्यको कमि भएको हो भने
मलाई लाग्छ |
हुन् त मैले गरेको अनुसन्धान र सोध पुछ पनि शत प्रतिशत सही नै हो
भनेर त म भन सक्दिन तर यसले धेरैको भ्रमलाई कम गर्न अवश्य मद्धत पुग्ने छ भने आशा
लिएको छु | आदिनाथको उत्पतिको बारेमा
चोभारमा मात्र सिमित नभई यसको सम्बन्ध सिद्धिपुर थसिसंग पनि जोडिएको देखिन्छ | अत: मैले सिद्धिपुर थसिका जेष्ठ नागरिकहरू, सिद्धिपुर थसिका नेम्कुल खलक जो युगौंदेखि
पुजारीको रूपमा काम गर्दै आइरहनुभएका नेकु खलका थकाली स्व.पूर्णबहादुर नेमकुलसंग
अनि चोभारका स्थानीवासी,जेष्ठ नागरिकहरू र शाक्यहरू संग गरेको सोध पुछ र अनुसन्धान बाट यो
पुस्टि हुन आउंछ कि हालको आदिनाथ ललितपुर जिल्लाको सिद्धिपुर (थसि) सानागाउँको नै
हो भनि पुस्टि हुन् आउछ (हाल महालक्ष्मी नगरपालिकाको वडा नम्बर ६ भित्र पर्छन) र
यस बारे चोभार वासी र सिद्धिपुर वासी दुबैको एकमत यो छ कि आदिनाथ सिद्धिपुर थसिकै
हो | आदिनाथको कथा एउटै भएपनि थसिवासीहरू र चोभार वासीहरूको भनाईमा केहि मात्रामा
फरक देखिन्छ |
१) सिद्धिपुर थसिवासीको
भनाई अनुसार : हुन त लिखित रुपमा भेटाउन नसके पनि स्थानीय प्रचलित भनाई तथा लोक कथन अनुसार “थसि” को पुरानो बस्ती पहिले “ प्वं वुँ ” फांटमा रहेको भन्ने छ । जसलाई “ सिंपुर ” देश भनेर चिनिने गरिन्थ्यो | “ प्वं वुँ ” को अर्थ असिना पर्ने खेत हुन्छ । त्यही
प्वंवुँ स्थित पुरानो बस्तीको पूर्व पट्टी छेउबाट गोदावरी खोला बग्ने गरेको र किनारामा श्री आदिनाथ
देवता स्थापना गरि राखेकोमा कुनै समयमा आंधीबेरीका साथ ठूलो असिना पानी पर्नाले
गोदावरी खोलामा ठुलै बाढी आई देवतालाई नै बगाईलगि कयौं बर्ष पछी नख्खु र बागमतीको दोभानमा अडकिरहेको अवस्थामा : नन्द
ग्वाले देखेका थिए,चोभारको चौरमा गाई चराउदै गरेका चोभार वासी
"नन्द ग्वा "ले बच्चाको रुप धारणा गरेका आदिनाथ देवतालाई बच्चाउन खोलामा
जाँदा बच्चाले 'मलाई नछोउ,मलाई
नछोउ ” भनी कराउन थाले र नन्द ग्वालाई श्रीआदिनाथले
आफ्नो रूप दर्शन गराउनु भयो। आदिनाथको दर्शन पाएपछी नन्द ग्वाले श्रीआदिनाथलाई
बिन्ती चढाए –“ प्रभु हाम्रो गाउँको बसुन्धारा मन्दिर विगत केही
समय देखी खाली भइरहेको हुँदा सो ठाउँमा प्रभु विराजमान भइदिनु पर्यो ” नन्द ग्वाको बिन्तिलाई आदिनाथले स्विकार
गर्नुभयो, र नन्द ग्वा खुशीले प्रभुलाई लिन म बाजा गाजा
लिएर आउछु भनी गाउँ पसे । नन्द ग्वाले सम्पूर्ण गाउँ वासिलाई खबर गर्दा गर्दै उनी
आउन ढिला भए। उता श्रीआदिनाथ मलाई कहिले लिना आउछ भनेर नख्खु खोलाको दोभान बाट
माथि चोभार डाडाको गाउँ तिर हेरिरहनुभयो । त्यही भएर हाल सम्म पनि श्रीआदिनाथको
आँखा अली माथि हेरिरहेको जस्तो देखिन्छ।
सम्पूर्ण
गाउँवासीहरू बाजागाजा सहित दोभानमा आइपुग्दा कसैलाई दर्शन गराउनु भएन र गाउँवासीले
सोध्दा नन्द ग्वा:ले आफ्नो झ:वा कठिले (गाइ बस्तु चराउन जाँदा लिएर जाने
एकप्रकारको लाठी हाल सो कठि (लठी) लाई नाग प्वाँ :भने गरिन्छ ) मैले अघि यहिं देखेको हो भनि कठि (लठी) तेर्साएर
गाउँवासीलाई देखाए सोहि बेला
श्रीआदिनाथ स्वयम प्रकत भई भनु भएको थियो कि -" म सिं: पुर (सिद्धिपुर थसी)को
देवता हुँ, मलाई परापुर्वकालदेखी नै महास्नान,कलवेर फेर्ने
दशकर्म तथा जात्रा गर्ने कार्य थसिका नेकु खलक् (नेमकुल)द्वारा नै गरियोस भनु भयो ” गाउवासीहरू यस् कुरामा सहमत भईसकेपछी बिभिन्न
बाजागाजा सहित सिन्दुर जात्रा गरी चोभारमा खाली रहेको श्री बसुन्धारामाजुको
मन्दिरमा बसुन्धरा माजुको सिहासन भन्दा ठिक अगाडी श्रीआदिनाथको मुर्ति प्रतिस्थापन
गरिएको भने कुरा जनविस्वास रहेको छ । लिखित रूपमा भेटाउन नसकिए पनि जीउदो
प्रमाण स्वरूप हाल सम्म पनि थसि (सिद्धिपुर्)का वासिन्दाका नेम्कुल खलकहरू
परापूर्वकालदेखि बिना जुता नाङो खुट्टालेपरम्परागत सेतो कपडाको तुना भोटो ,जामा र
पटुका सहितको वस्त्र लगाएर कपाल मुन्डन गरी सिद्धिपुर थसि देखी चोभार सम्म हिंडेर देवताको महास्नान गर्ने ,स्यारसुसार संभार
गर्ने, रंगरोगन गर्ने ,तान्त्रिक विधिपुर्बक दशकर्म पूजा गरि देवता खटमा राखी
मन्दिर परिसरमा परिक्रमा गरि जात्रा सम्पन्न गर्न जानु पर्छ जुन चल्न आजका सम्म यथावत नै छ । यसबाट यो स्पष्ट हुन आउछ कि
सिद्धिपुर थसिको देवता नै हालको श्रीआदिनाथ देवता हुन। श्रीआदिनाथ विराजमान
हुनुभएको स्थानलाई हाल सम्म पनि सिद्धिपुर थसी वासीहरू बैद्द्य ख्य:वा बैजु
ख्य:नामबाट प्रचलित छन् भने कसै कसैको भनाई अनुसार बैद्द्य ख्य:वा बैजु ख्य:नभई
बहा: या बही हुन् सक्ने दावी गर्नु भएको छ ,जुन स्थानमा हाल आदिनाथको मन्दिरको
पुननिर्माणको काम भैरहेको छ |
२ ,चोभार वासीको भनाई अनुसार : असिननै असिनाको वर्षाले एकपालि बालीनाली सबै नष्ट भई ठूलो धनजनको क्षती भयो र खानाको लागि हाहाकार मच्चीयो,भोकमरी बढ्न थाल्यो।यति ठुलो देवता हुदाँ हुदै पनि यस्तो असिनाको वर्षा यहि देवताले गर्दा यस्तो प्रकोप भएको हो
भन्न ठानी स्थानीयवासीहरू (थसीवासीहरु) रिसले चुर भएर सबैजना मिलि देवतालाई नजिकको
गोदावरी खोलानिर बालुवाको ढिस्कोमा पुरिदिए र पछि गोदावरी खोलाको पानीको बहाब
संगै श्रीआदिनाथ बग्दा बग्दै धैरै बर्ष पछी यो
उपत्यकालाई छोडेर जान मन नलागेर भनौ या खोइ के भएर हो च्व:बहा नख्खु खोलाको दोभानमा अड्किएर बालुवाले पुरेर
बसेको अवस्थामा : सधै जसो नन्द ग्वा च्व:बहाको
चौरमा गाईहरू चराउन बथान नै लिएर जाने गर्दथे यस्तै गाईहरूको बथानमा एउटा गाई
भर्खर ब्याएको थियो तर घरमा दुध दुहिंदा कहिले दुध दिदैन्थ्यो | गाई स्वस्थ र निरोगी नै थियो त्यस्तो पहाड चढेर
आउने जाने गर्थ्यो र खाना पनि राम्रो खान्थ्यो तर दुध नदिदा नन्द ग्वा:लाई चिन्ता
पर्यो किन यस्तो भएको होला भनी सोच्न थाले र अन्तिममा गाईलाई चियो गर्ने मनशायले
भोलि देखि गाईको चियो गर्न थालेछ | चियो गर्ने क्रममा त्यो गाईले नक्खु खोलाको दोभानमा दुधको धारा बगाउदै गरेको देखे र पछी
सोहि ठाउमा खनेर हेर्दा श्री आदिनाथको मुर्ति फेला परेको थियो भनिन्छ
बसुन्धारा माजु अद्रिष्य रूपमा यहाँ आई आदिनाथको रुपधारण गरि बसेको हुन् सक्ने जन
विश्वास छ | सोही समयमा नन्द ग्वालाई श्रीआदिनाथले आफ्नो रूप
दर्शन गराउनु भयो। आदिनाथको दर्शन पाएपछी नन्द ग्वाले श्रीआदिनाथलाई बिन्ती चढाए -' प्रभु हाम्रो गाउँको बसुन्धारा मन्दिर विगत केही
समय देखी खाली भइरहेको हुँदा सो ठाउँमा प्रभु विराजमान भइदिनु पर्यो “ नन्द ग्वाको बिन्तिलाई आदिनाथले स्विकार गर्नुभयो, (नन्द ग्वाले चिन्चा भाषा ( ) पनि बुझ्ने भएकोले देवताको भाषा बुझेर थाह पाइहाल्नु भयो र
आदिनाथाको कुरा बुझि हाल्यो र नन्द
ग्वा खुशीले प्रभुलाई लिन म बाजा गाजा लिएर आउछु भनी गाउँ पसे । नन्द ग्वाले
सम्पूर्ण गाउँ वासिलाई खबर गर्दा गर्दै उनी आउन ढिला भए। उता श्रीआदिनाथ मलाई
कहिले लिना आउछ भनेर नख्खु खोलाको दोभान बाट माथि चोभार डाडाको गाउँ तिर
हेरिरहनुभयो ।(त्यही भएर हाल सम्म पनि श्रीआदिनाथको आँखा अली माथि हेरिरहेको जस्तो
देखिन्छ।) बिभिन्न बाजागाजा सहित सम्पूर्ण वासिन्दाले सिन्दुर जात्रा गरी
च्व:बहामा खाली रहेको श्री बसुन्धारामाजुको मन्दिरमा बसुन्धरा माजु ( म्हांसुम द्द
)को सिहासन भन्दा ठिक अगाडी श्रीआदिनाथको
मुर्ति प्रतिस्थापन गरिएको भने कुरा जनविस्वास रहेको छ।
मुर्तिको
प्रतिस्थापन भैसकेपछी एक जना कुष्टरोगीले भाकल गरी श्री आदिनाथको पूजा
गरेछन | लगतै कुष्टरोगबाट मुक्ति पाएछ्न | कुष्टरोगबाट मुक्त पाएकालाई श्रीआदिनाथ सपनामा
आइ मलाई हिंसादी कर्म नगर्नु र सिद्धिपुर थसिका नेकु (नेम्कुल) र नन्दग्वाला
(गोपाल)संग सल्लाह गरी पूजा गर्नु भनी आदेश गरेछन्, भनिन्छ, त्यसै
बेलादेखि नेम्कुल पुजारी र गोपाली समुदायल शुद्ध भई नेवा समाजमा प्रचलित गर्भाधान ,धौवजी नकवनेगु , जन्म, इही, बा:र्हा व्रतबन्ध, जङ्कू, विवाह, मृत्यु
संस्कारसमेत दशकर्म गरिने परम्परा चलिआएको बुझिन्छ |
थसि वासिन्दा र च्व:बहाका
वासिन्दाहरूको मत,अभिमत,जोड र निचोड अनि तर्क र धारणाहरू फरक भए पनि त्यसले दिन खोजेको
सन्देश र भन खोजेको कुरा एउतै देखिन्छ |
२०७२ सालको महाभूकमबाट
क्षतिग्रस्त मन्दिरलाई पुन निर्माणको क्रममा मन्दिर पूरै भत्काएर पून: निर्माण
गर्ने क्रममा फेला परेको दुइवटा देवाआशनले प्रमाणित गरेको छ | श्रीआदिनाथको
मन्दिर भित्र हालसम्म पनि दुइवटा सिहासनहरू देख्न सकिन्छ एउटा बसुन्धारा माजुको र अर्को आदिनाथको , आदिनाथको मुर्ति भन्दा ठिक पछाडी एउटा खालि सिहासन
हाल सम्म पनि देख्न सकिन्छ भन्ने अर्को सिद्धिपुर थसि सानागाउँका नेम्कुल खलकका
परिवारहरू र च्व; बाहमा
बसोवास गर्दै आइरहनु भएका नन्द ग्वा:का सन्ततिहरूलाई हाल सम्म पनि जिउँदो प्रमाणका
रूपमा लिन सकिन्छ र उहाँहरूबाट पनि बुझ्न सक्नु हुन्छ
बसुन्धारा माजुको मन्दिर कसरी खालि भए त ?
मैले माथि नै उल्लेख गरि सकेको थिए कि आदिनाथा भन्दा पहिला त्यो
ठाउँमा “ भगवान च्यान्ग्रसिन (Chyangrasin
)” श्री
बसुन्धारा माजु (जसलाई
नेपलममण्डलाका भक्तजनहरूले म्हा:सु ख्वा: द्धयो भने गरिन्थ्यो अर्थात पहेंलो वर्णको देवता ) को मुर्ति थियो र हरेक साल चोभारबाट रथमा तानेर बसुन्धारा
माजुलाइ जन
बहालको जन म्हा: द्द्यो (सेतो मछिन्द्रनाथको रथ संग जुधाउन या त मित लागउन या त मितलाइ भेट्न जाने गर्थ्यो |यस्तै एक समयमा असन बाट फर्किने क्रममा व्हंगाल भने ठाउँमा हालको बल्ल्खुमा पुग्दा आँधीबेहरी र पानी परेकोले रथ त्यही
हिलोमा गाडीयो धेरै समय
सम्म पनि बसुन्धारा माजुको रथलाई त्यहाँ बाट तान्न हिलो बाट निकाल्न सकिएन र पूजा गर्न कोहि पनि नआए पछी पान्जुहरूले बसुन्धारा माजु सहित रथलाइ त्यही
छोडेर सबैजना घर फर्के | लिच्छवीकालमा
नेपालमण्डलाको ब्यापार भौगोलिक आधारामा तिब्बेत संग आयात निर्यात सजिलै भएको कुरा
बिभिन्न अभिलेखहरुमा उल्लेख गरिएको देखिन्छ,|जस्तो कि
जसरी अहिले सडक मार्गबाट ब्यापार भारत संग सजिलो भए जस्तै त्यो समय हिडेर ब्यापार
गर्ने बेला तिब्बेत नै नजिक लाग्थ्यो | सोहि बेला तिब्बेती भोतेहरू व्यापारको शिलशिलामा आवतजावत गर्ने क्रममा तिब्बेती भोते व्यापारिहरूले “ भगवान च्यांग्रासिं (म्हा:सु ख्वा: द्धयो ) बसुन्धारा माजु ” लाई आँखा गादिराखेको थियो र हिलोमा रथ फसेको
अवस्थामा त्यो ठाउँमा भोटेहरूले रथबाट सानो बच्चाको रूपमा उठेर हिंड्डुल गर्दै गरेको देखे र यस्तो घना जंगलमा यस्तो सानो बच्चा बिना डर
र त्रासमा घुमिरहेको देखेर यो साधारण मान्छे पक्कै होइन होला यसलाई जसरि भए पनि
हामीकाँ लानु पर्छ भनेर बोकेर लाने कोसिस गरे तर मुखले तोकी दिनु भयो र अन्तिममा
ढाडमा ढाड जोडेर बोकेर तिब्बेत सम्म लान सफल भए | त्यही
बेला देखि चोभारको मन्दिर खालि भएको हो र जुन “ भगवान
च्यान्ग्रसिन (Chyangrasin ), श्री बसुन्धारा माजु , म्हा:सु ख्वा: द्धयो ” लाइ लगेर तिब्बतको केरूंग भने ठाउँमा सात जोर भोटे ताल्चा लाएर चाँदीको सिक्रीले हाल सम्म बाँधेर
राखेको छ भने कुरा जेष्ठ नागारिकहरूको श्रुति छ |
हरेक साल चोभारबाट रथमा तानेर बसुन्धारा
माजुलाइ असनको जन म्हा: द्द्योसंग रथ जुधाउन या त मित लागउन या त मितलाइ भेट्न लाने नै गर्थ्यो भने भनाई श्री जगधन शाक्यको छ र हाल सम्म पनि बसुन्धारा माजु
(म्हांसुम द्दयो) लाई तानेर लाने बाटो ( द्द्यो लं ) रहेको कुरा
स्थानीयवासीलेहरूको बुझाइ छ र प्रमाणको लागि मन्दिर भित्र थन्काएर राखेको मकिएको
अवस्थामा त्यो बेलाको रथक पांग्रा र डोरीहरू हाल सम्म पनि मन्दिर भित्र यथावत नै छ
| सम्बन्धित निकाय,स्थानीयवासी अनि पुरातत्वविद्हरू मिलेर यसको
अनुसन्धान गर्नु जरूरी देखिन्छ |
श्रीआदिनाथ
विराजमान हुनुभएको पबित्र भुमि बैद्द्य ख्य: वा बैजु ख्य: हाल सम्म पनि सिद्धिपुर
थसिवासिन्दाहरूले जोगाउन सफल भएका छन जुन पवित्र स्थानलाई मेरो (नन्द बहादुर
महर्जन) अगुवाईमा न्हुछे बहादुर नेम्कुलको नेतृत्वमा अनि रबिन्द्र नेम्कुलको
अध्क्षयतामा आदिनाथ संग सम्बन्धित नेपाल सरकारमा दर्ता समेत भएको परम्परागत “आदिनाथ
देवता लेख्ने, बोक्ने नेकुज (नेम्कुल )गुठी ,प्रमुख अतिथि बागमती प्रदेशको श्री
माधब पौडेल.प्रदेश सांसद बिशेष अतिथि , महालक्ष्मी नगरपालिकाको प्रमुख श्री हरि
गोबिन्द श्रेष्ठ, महालक्ष्मी उप प्रमुख श्रीलक्ष्मी महर्जन तथा महालक्ष्मी
नगरपालिकाको वडा नम्बर ६ सिद्धिपुर थसिको वडा अध्क्षयश्री धर्म महर्जन , वडा
सदस्यहरू र सम्पूर्ण स्थानियावासिहरूको सहभागितामा बिक्रम सम्बत २०७९ साल जेष्ठ १२
गते तदनुसार नेपाल सम्बत ११४२ बछलागा एकादशी ,सन् २०२२ मे २६ तारिखका दिन शुभ साइत
निकाली आदिनाथ मन्दिरको जग शिलान्यास गर्नु भएको थियो | हाल पून:निर्माणको कार्य
शुरुवात भइरहेको जानकारी बही द्दयो आदिनाथ लोकेश्वर मन्दिर पून निर्माण उपभोक्ता
समितिबाट जानकारी प्राप्त भएको छ |
सन्दर्भ सामाग्रीहरु
१, नेमकुल वंशावली २०७३
२, स्व.पूर्णबहादुर नेमकुल - सिद्धिपुर थसी
३, न्हुछे बहादुर नेमकुल - सिद्धिपुर थसी
४, राजेश शाक्य -
च्व:बहा
५, इन्द्रबहादुर शाक्य -
च्व: बहा
६, जगधन शाक्य -
च्व: बहा
७, धन बहादुर डंगोल -
च्व: बहा
८, साँस्कृतिक पृष्ठ भूमिमा सानागाउँ
थसी सिद्धिपुर २०६६
९, रबिन्द्र प्रसाद नेम्कुल - थसी सिद्धिपुर
Comments
Post a Comment