सिद्धिपुरको सुकुल !

सिद्धिपुरको सुकुल !

प्रशान्त माली
https://www.kantipurdaily.com/printedition/2017/06/05/20170605075859.html?author=1
ललितपुर — सिद्धिपुरकी ८२ वर्षीया चन्द्रमाया महर्जनमा जोस/जाँगर अझै उत्तिकै छ । दिनभरि उनी परालको गुन्द्री बुन्छिन् । किनकि, जापानबाट आएको ‘अर्डर’ अनुसार उनले समयमा दिनैपर्ने हुन्छ ।

सिद्धिपुरवासीको पुख्र्यौली पेसा सुकुल बुन्नु हो । तर उनीहरूको बुनाइ अचेल बदलिएको छ– परम्परागत शैली र ढाँचाभन्दा आधुनिक ‘डिजाइन’ तर्फ । चन्द्रमायाले विवाह भएर आएदेखि सुकुल बुन्न सिके पनि यो उमेरमा तालिम लिनुपर्‍यो । विदेश पठाउन गुणस्तरीय चाहिने भएकाले स्थानीय बासिन्दाले सीप तिखार्ने अवसरसमेत पाएका छन् । शान्ति मूलटोलकी तारा महर्जन पनि जापानबाट आएको ‘अर्डर’ कै सुकुल बुन्नमा व्यस्त थिइन् । समयमा नसके फेरि काम नपाउनेप्रति उनी चिन्तित छिन् । ‘सामान्यतया एउटा सुकुल बुन्न ५/६ दिन लाग्छ,’ उनी भन्छिन्, ‘ठूलो आकारको बुन्न त झन्डै दुई साता लाग्छ ।’
पहिला फुर्सदमा मात्र खासगरी घरायसी प्रयोजनमा सुकुल बुन्ने गरिन्थ्यो । विदेश निर्यात हुन थालेपछि घरमा बस्ने महिलामात्र होइन, पुरुषहरूलाई समेत यसले व्यस्त बनाइदिएको छ । कमाइसमेत राम्रो हुने भएकाले घर चलाउन सजिलो पारिदिएको छ । कान्तिपुरले भेटदा अधिकांशलाई राम्रोसँग बसेर कुराकानी गर्ने फुर्सदसम्म थिएन । ताराले सुकुल प्रतिस्क्वायर फिट ९० रुपैयाँका दरले बिक्ने गरेको बताइन् । यो दरले सानै सुकुलको पनि सरदर ५ हजार रुपैयाँ आउँदा कामको मूल्य पाएको उनीहरूलाई अनुभूति हुन्छ । ‘घरको काम भ्याएर पनि मासिक २० देखि २५ हजारसम्म कमाउन सकिने रहेछ,’ उनले सुनाइन् । देवननी रामढोकाकी गोमती महर्जनले बुनिरहेको सुकुलको अर्डर भने पाटनका रेस्टुरेन्टबाट आएको रहेछ । उनी टाउको परालले ढाकेर सुकुल बुनिरहकी थिइन् । विदेश निर्यात हुन थालेपछिको फाइदा स्वदेशकै ‘अर्डर’ मा पनि राम्रै मूल्य आउन थालेको उनीहरू सुनाउँछन् । ‘टाउको दुख्छ, पराल बाँधेर काम गर्दा निको हुन्छ,’ उनले भनिन्, ‘अर्डरको ७ वटा सुकुल बुनिसकें ।’
नेवार समुदायमा महिलाले सुकुल बुन्ने चलन छ । तर, सिद्धिपुरमा सुकुल बुन्ने पुरुषको संख्या पनि बाक्लै छ । रामढोकाका गोपाल महर्जनको सुकुल गोदाम छ । आफूले बुन्ने सुकुल जर्मनीमा निर्यात हुने गरेको उनले बताए ।

आवश्यकता भएपछि जे पनि पूरा हुन्छ । विदेशमा निर्यात गर्ने गुणस्तरको सुकुल बुन्न तालिम दिने सिद्धिपुरमा ५ जना छन् । प्रशिक्षक रामचन्द्र महर्जनका अनुसार विदेशका रेस्टुरेन्टहरूमा सुकुल मात्र नभई परालको टेबुल, सोफा, डोरम्याट, टेबुल म्याट, गिफ्ट आइटम, काँटा चम्चा राख्ने भाँडाजस्ता वस्तुको माग बढदो छ । त्यस्तै पेन होल्डर, जुत्ता, चकटी, नेवारी वास्तुकला शैलीका झ्यालजस्ता सजावटका सामग्री पनि पठाउन थालिएको छ । उनका अनुसार जेठमा जापान र जर्मनीका दुई रेस्टुरेन्टबाट ३२ वटा सुकुलको ‘अर्डर’ आएको छ । त्यसका लागि स्थानीय बासिन्दाको प्रयोग गरिएको छ । उनले पोखरा होटलहरूले पनि गुणस्तरीय सुकुललगायत पराले सामग्रीको माग बढेको जानकारी दिए ।
‘विदेशमा निर्यात गर्ने बाटो यति सजिलै खुलेको होइन,’ उनले भने, ‘सुरुमा पोखराको एउटा रिसोर्टबाट ६५ हजार रुपैयाँको अर्डर आयो । घर भाडामा लिएर कारखानै खोलें । फेरि अर्डर आएन । कारखाना बन्द गर्नुपर्‍यो । धेरै प्रयासपछि व्यक्तिगत सम्पर्कबाट २०६५ मा पहिलोचोटि जापान निर्यात गर्न सफल भएपछि बाटो खुल्यो ।’ पहिला त्यहाँ बस्ने नेपालीले रेस्टुरेन्टका लागि लगेकामा अचेल त्यही देखेर धेरै जापानीले उनकै माध्यमबाट मगाउने गरेका हुन् ।
सुकुल निर्यातकर्ता संस्था थसी स्रोत परिचालन केन्द्रका अध्यक्ष कृष्णकुमार महर्जनका अनुसार पहिला–पहिला खेतबाट जस्तो पराल ल्याइन्थ्यो त्यस्तै प्रयोग गरिन्थ्यो । विदेश निर्यात गर्न सुरुमा पराल बनाउने परम्परागत शैली परिर्वतन गरियो । खेतबाट पराल ल्याएपछि साबुन–पानीले माटो पखालिन्छ । ‘चमक ल्याउन, ढुसी र किरा लाग्न नदिन फिटकिरी राखिन्छ,’ उनले भने, ‘सुकुलबाट धूलो ननिस्कियोस् भनेर परालको टुप्पो काटेरमा मात्र बुनिन्छ ।’
उनका अनुसार राम्रो पराल बनाउन धान काटिसकेपछि कुन्यु लगाएर एक साता राख्नुपर्छ । पराललाई सीधै सुकाउँदा सुकुल बलियो हुँदैन । ‘पोखरेली, खुमलटार चामलको परालभन्दा टाइचिनको टिकाउ हुन्छ । काम गर्न भने गाह्रो हुन्छ । यस्तो सुकुल पानीबाट पूरै जोगाउन सके १० वर्षसम्म राम्ररी टिक्छ ।’ एक कल्ली परालको अफ सिजनमा २५ रुपैयाँ र सिजनमा १५ देखि २० रुपैयाँ पर्छ । एउटा ठीकै आकारको सुकुल बुन्न करिब २५ कल्ली पराल लाग्छ । कम खर्चमा घरमै बसी–बसी राम्रो आम्दानी गर्न सकिने भएकाले यो पेसालाई राज्यकै पहलमा प्रवद्र्धन गरिनुपर्ने सिद्धिपुरवासीको माग छ । ‘जन्मदेखि मरणसम्मका लागि पराल चाहिन्छ,’ महर्जनले भने, ‘राज्यले सुकुल बुन्ने परम्परालाई पेसामा रूपान्तरण गरी साथसहयोग प्रदान गर्नुपर्छ । तर, २०६५ मा सीपमूलक तालिमका नाममा १० हजार रुपैयाँ दिएयता न एक पैसा सहयोग गरेको छ, न वास्ता नै गरेको छ ।’
प्रकाशित : जेष्ठ २२, २०७४ ०७:४६

Comments

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी