सिद्धिपुर (थसि),सानगाँउ को परीचयको भाग २
थसि – प्राचीन समयमा थसिमा (सल्लाको रुख) को जंगलमा बस्ती बसालिएको हुनाले सोही रुखको नामबाट थसि हुन गएको मानिन्छ । लिच्छवी र मल्लकालीन समयमा ठूल्ठूला बस्तीहरु बनाइएको ठाउँमा देशको रक्षा सुरक्षा गर्नका लागि “गढ” (गण) बनाइएको हुन्थ्यो । गढ बनाउने बेला सम्भवतः वरिपरी रुखहरु रोपेर हेर्दैै डरलाग्दो जंगल बनाइन्थो, जसभित्र धेरै गहिरो खाडल खनेर डरलाग्दा र हिंस्रक जनावरहरु पाल्ने गरिन्थ्यो । साथै गहिरो पोखरी र पर्खाल पनि बनाइन्थ्यो । यसरी ३–४ तहभित्र मात्र शहर बनाइएको हुन्थ्यो भने शहरमा पस्न ठाउँ–ठाउँमा धेरै बलिया ढोकाहरु बनाइएको हुन्थ्यो, जुन ढोका थुनिएपछि शहरभित्र पस्न प्रायः असम्भव नै हुन्थ्यो । तर कहिलेकाहीं एकदमै बलिया पहलमान शत्रुहरु आएका गुप्त समाचार थाहा पाउनासाथ भाग्नका निम्ति शहरभित्र पस्नुभन्दा पहिले शहरसँगै घना जङ्गल बनाइएको हुन्थ्यो । यस्ता ठाउँलाई गढ वा दुर्ग (गण) भनिन्थ्यो । जुन ठाउँमा ‘गढ’ दुर्ग वा ‘गण’ बनेको हुन्छ, सोही ठाउँको नाम विशेष प्रचलित हुन्थ्यो । यहाँ सल्लाको रुखको (नेवारीमा “थसिमा”)को जङ्गलमा ‘गढ’ वा दुर्ग (गण) बनाइएका कारण यस ठाउँको नाम ‘थसि’ रहन गएको हो भनी किंबदन्तीमा उल्लेख पाइन्छ ।
किराँतकालमा पाटन शहरमा मोटा–घाटा, डम्म परेका, देख्दै डरलाग्दा भोटेहरु छ्यास–छ्यास्ती आएर जनजीवन अस्तव्यस्त हुने गरी बसोबास गरी स्थानीयवासीलाई हमला गरेर बालबच्चा मात्र छाडेर अन्य सबैको हातखुट्टा भाँची अनेकौं चोटपटक पारी विभिन्न यातना र कष्टहरु दिई मार्न थाले । आततायी भोटेहरुको यस्ता नराम्रा ब्यवहार र दुःखदायी घटनाले गर्दा सहन नसकी ‘अब यहाँ बसेर भएन’ भन्दै पाटन शहरबाट सल्लै सल्लाको रुख (थसिमा हे थसिमा दुगु गुँ) को जङ्गलमा आएर विस्थापित भए । कसै कसैले त भनेका थिए– ‘तिमीहरु त्यस्तो डर लाग्दो, हिंस्रक जनावरहरु भएको जङ्गलमा बस्न नजाऊ ।’ तर विस्थापित हुनेहरुले कसैका कुरा नसुनी “यस्ता भोटेहरुको हातबाट मर्नु भन्दा त बरु जङ्गलमै गएर मर्नु बेस” भन्दै थसिमाको जङ्गलमा आएर बसे । तिनीहरु बिस्तारै जंगल फँडानी गरेर खेती गरेर त्यहीं बस्न थाले । त्यही समयदेखि यस देशको नाउँ ‘थसि’ रहन गएको मानिन्छ । त्यसैले यो देश (गाउँ) का पुर्खा भनेर पाटनवासीलाई नै भन्ने गरिन्छ । पाटनको लँुखुसि र दुपातका मानिसहरु पहिला यहाँ बसोबास गर्न आएका हुन् भन्ने स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । थसिका मुख्य बासिन्दाहरु घःवा खलक, यलमु खलक, धगु खलक र नेम्कुल खलक भन्ने गरिन्छ । घःवा खलकका पूर्वजहरु पाटनवासी नै हुन् । उनीहरुको कुलदेवता पनि हालको शंखमूलको सिकबहीलमा अवस्थित छ । त्यस्तैगरी यलमू, धंगु खलकहरुका पूर्खा पनि पाटनवासी नै हुन् किनभने लुँखुसि र दुपातबासीले मनाउँदै आइरहेको धं गुठी र यलमु गुठीमा यहाँका बासिन्दा प्रत्यक्ष रुपमा हालसम्म पनि सहभागिता जनाउँदै आउनु पनि एक प्रमाण हो भने नेम्कुल खलकका पूर्खा पनि पाटनका नै हुन् । नेम्कुलको कुल घर हालसम्म पनि लुँखुसिमा छ र कुलदेवताको पूजा गर्न त्यही घरमा हालसम्म पनि जाने गरेका छन् । बाँकी अन्य खलकहरु अन्तैबाट आएका मानिन्छन् । जस्तो सुनाकोठी, हरिसिद्धि, भादगाउँ, धापाखेल आदि ।
लिखित रुपमा भेट्टाउन नसकिए पनि बुढापाकाहरुको भनाई अनुसार यस थसिको बस्ती (पुरानो बस्ती) भनेर हालको “पं फुति” फाँटलाई भन्ने गरिन्छ । जसलाई बैजु, बैद्य ख्यः (जहाँ नाम चलेका बैद्यको घर थियो) र सिंपुर देश भनेर चिनिने गरिन्थ्यो । उहाँहरुका भनाई अनुसार हालसम्म पनि त्यहाँ खनेर हेर्दा पुराना घरका गाराहरु, माटाका टुटेफुटेका भाँडाहरु, इनारका खाल्डाहरु र जगमा राखिएका ढुङ्गाहरु भेट्टाउन सकिन्छ । (इँटाका भट्टाहरु बनाउँदा थुप्रै पुराना ढुङ्गाहरु निस्केको सबैलाई थाहा भएकै तथ्य हो ।) पं फुति फाँटमा बसोबास गरिरहेको बेला एक समय दुई ठूला–ठूला दैवी प्रकोपहरु भएका थिए भन्ने गरिन्छ । १. अजिद्यो आएर अजिमाको महामारी फैलिएर यस गाउँका सबै बालबालिकाकोे मृत्यु भयो, हाहाकार मच्चियो । जुन दुःखद्पूर्ण घटनालाई बिर्सदै जाने क्रममा फेरि अर्को प्रलय शुरु भयो ।
२. पूर्वाभिमुख (पूर्वतिर फर्केर बसेको) हुनाले सिद्धिपुरमा जहिले पनि पूर्वपट्टि असिना नै असिनाको वर्षाले सम्पूर्ण बालिनाली नष्ट हुने गर्दथ्यो । जहिले पनि यसरी असिनाको वर्षाले ठूलो धनजनको क्षति हुन्थ्यो र खानाको लागि हाहाकार मच्ंिचथ्यो, भोकमरी बढ्न थाल्दथ्यो । असिनाको वर्षा यही प्वँ(असिना) द्यो(देव)ले गर्दा यस्तो प्रकोप भएको हो भन्ने ठानी रीसले चूर भएर सबै मिलेर प्वँद्योलाई खोलामा फाल्न लगियो । मान्छेहरु त्यहाँ नबसी बाध्यताले छोडेर हालको ठाउँमा आएर बसोबास गर्न आएको हो भन्ने मान्यता रही आएको छ । प्रमाणको रुपमा चोभारको आदिनाथलाई लिन सकिन्छ । बुढापाकाहरुका भनाई अनुसार चोभारको चौरमा गाई चराउँदै गरेका “नन्द ग्वा”ले चोभारको नख्खु खोला दोभानमा बगाउँदै गरेका बच्चालाई बचाउन खोलामा गए । तर बच्चाले ‘मलाई नछोऊ, मलाई नछोऊ’ भनी कराउन थाले र सोही समयमा नन्द ग्वालाई श्री आदिनाथको रुप दर्शन भयो । सोही समयमा नन्द ग्वाले श्री आदिनाथलाई बिन्ती चढाए – ‘प्रभु, हाम्रो गाउँकोे बसुन्धरा मन्दिर विगत केही समयदेखि खालि भइरहेको हुँदा सो ठाउँमा प्रभु आई विराजमान भइदिनु प¥यो ।’ यसलाई आदिनाथले स्वीकार गर्नुभयो, नन्द ग्वा खुशीले बाजागाजा सहित प्रभुलाई लिन आउँछु भनी गाउँ पसे । नन्द ग्वाले गाउँका सम्पूर्ण बासिन्दालाई खबर गरे, यसरी सबैलाई खबर गर्दागर्दै उनी आउन ढिला भए ।
Comments
Post a Comment