सिद्धिपुर थसी को परीच्य भाग ३
.....।।।।।।।।।।गाउँका सम्पूर्ण बासिन्दालाई खबर गरे, यसरी सबैलाई खबर गर्दागर्दै उनी आउन ढिला भए । उता श्री आदिनाथ आफूलाई कहिले लिन आउँछन् भनी माथि गाउँतिर हेरिरहनुभयो । त्यही भएर हालसम्म पनि आदिनाथको आँखा अलि माथि हेरिरहेको जस्तो देखिन्छ । नन्द ग्वा विभिन्न बाजागाजा सहित पहिलाकै ठाउँमा आइपुगे । तर पहिलाको ठाउँमा श्री आदिनाथ थिएनन् । यता उता सबैले आँखा लगाए तर कहीँ भेटिएनन् । नन्द ग्वा र पुरोहितबीच गन्थन भयो र नन्द ग्वाले मैले यहीँ देखेको हो भनी जिद्दी गर्न थाले । त्यसपछि सोही ठाउँमा पुरोहित र नन्द ग्वालाई मात्र आदिनाथले दर्शन दिए । पुरोहितले देख्नासाथ खोलामा कलश थाप्नुभयो र आदिनाथ त्यस कलशभित्र विराजमान हुनुभयो । अहिले पनि कलश थाप्दा पानी बगेकोपट्टि कलशको पछाडिको भाग पारी थापिन्छ । र हालसम्म पनि नख्खु खोलाको दोभानमा मेलाको बेला दाफोस्वां खन्याउने गरिन्छ र देवता भएको दाफोस्वां फनफनी घुमेर पछाडिबाट अगाडि आई कलशभित्र पस्दछ, जुन चैत महिनामा मेला लागेको बेला देख्न सकिन्छ । त्यसबेला श्री आदिनाथ स्वयम् प्रकट भई भन्नुभयो– ‘म सिंपुर(सिद्धिपुर)का देवता हुँ मलाई परापूर्वकालदेखि नै त्यहाँका नेकु खलक (नेम्कुल) द्वारा नित्य पूजा गरि आइरहेको हुनाले नित्य कर्म अबका दिनमा पनि नेकु खलकद्वारा नै गरियोस्’ भन्नुभयो । गाउँवासीहरु यस कुरामा सहमत भइसकेपछि विभिन्न बाजागाजा सहित सिन्दुर जात्रा गरी चोभारमा खालि रहेको श्री बसुन्धरा माजुको मन्दिरमा श्री आदिनाथलाई स्थापना गरियो । हालसम्म पनि थसि (सिद्धिपुर) का वासीन्दा मध्ये चार नेम्कुल खलकहरुले बिना जुत्ता नाङ्गो खुट्टा सेतो वस्त्र लगाएर कपाल मुण्डन गरी सिद्धिपुरदेखि चोभारसम्म हिंडेर पूजा गर्न जाने चलन यथावत् छ । यसबाट यो स्पष्ट हुन आउँछ कि सिद्धिपुरका प्वँद्यो नै हालका श्री आदिनाथ देवता हुन् ।
थसिको स्थापना सम्बन्धमा आधिकारिक प्रमाणहरु फेला परेको छैन । तर पुरातत्व विभागको च.ल.न. ५४९÷ने आ १४६ मा देवमाला वंशावली (ने.स.१०७६ मा प्रकाशित) पृष्ठ १२५मा थसिको बारेमा यस्तो लेखिएको पाइन्छ – “नेपाल सम्बत् ६६२ श्री रत्न मल्लको पालामा कुकुँ भन्ने देवानहरुको रखवालको लागि ५०० घरको शहर बनाइदिएका हुन् ।” तर ने.स. ६६३ वि.सं. १६०० मा कुकँु जातका भोटेहरु नेपालमा भित्रिएको कुरा गलत मानिएको छ । नेपालको मल्लकालीन इतिहास, कान्तिपुरको इतिहास, रत्न मल्ल (पृष्ठ–४१, वि.सं. २०४१ आश्विन ३ गते प्रकाशित लेखक पेशल दाहाल र प्रकाशिका कमला दाहाल) मा रत्न मल्लले ती जातका भोटेहरुलाई थसिमा ५०० घर दिएका होइनन् भनी उल्लेख गरिएको छ । उता नेपालको ऐतिहासिक रुपरेखा बालचन्द्र शर्मा, २००८ पौषको वंशावलीमा उल्लेखित मितिसँग रत्न मल्लको राज्यकाल पनि मिल्दैन । राजा ने.सं. ६४० (वि.सं. १५७७) भाद्रतिर स्वर्गे भएको उल्लेख छ भने ने.सं. ६६३ (वि.सं. १५९९–१६००) तिर कसरी भोटेलाई थसिमा बस्न घर बनाई दिए त्यो कुरा स्पष्ट हुन सकेको छैन ।
बलम्बुको भेल्बु भन्ने ठाउँमा फेला परेको शिलालेख जिष्णु गुप्त र धु्रवदेवको बलम्बु, भेल्बुको अभिलेख (लिच्छवि संस्कृत, पृष्ठ ३८ लेखक जगदीशचन्द्र रेग्मी, प्रकाशक रत्न पुस्तक भण्डार)मा थंसम्प्रिन्देव क्षेत्राल........, भनेर उल्लेख गरिएको छ । उक्त थंसम्प्रिन्देवक्षेत्राल......... को अर्थ हालको थसि नै हो भन्ने कुरामा सत्यता देखाएको छ । जसरी काठमाडांै, चम्बुक्रमा, भक्तपुर खृपुुम, माखोपृङ र पाटन–युपग्राम, ललितब्रुमा र हालको ठेचोलाई थेञ्चो भनिएझंै थसम्प्रिन्देव पनि हालको थसि नै हो भन्ने अनुमान लगाउन सकिन्छ ।
(थंसम्प्रिन्देवक्षेत्राल........) को अर्थ थसिमा रहेका देवतासँग सम्बन्धित जग्गाको बारेमा बलम्बुवासीले थसिवासीलाई चार किल्ला छुट्याएर जग्गा राखिदिएको उल्लेख छ, तर कुनचाहीँ देवता हो नाम थाहा पाउन सकिएको छैन । यहाँका नेम्कुल जातिको भनाई अनुसार काठमाडौंको न्हूघः (जैसिदेवल) अवस्थित (सिथि द्यः) कुमार र चोभारमा अवस्थित आनन्दादिलोकेश्वरको पूजाआजा गर्न बलम्बुमा जग्गा प्रदान गरिएको मानिन्छ । त्यसै कारण सिद्धि कुमार जात्रा र आनन्दादिलोकेश्वरको जात्रा (कुमार षष्ठी र चैत दशैं) का दिन थसिका नेम्कुलहरु त्यहाँ गएर देवताको रेखदेख गनर्,े रंगरोगन गर्ने र पछि बलम्बुका बासिन्दाले विशेष पूजा गर्न आउने चलन हालसम्म पनि छ । त्यसैले थंसम्प्रिन..... नै हालको थसि हो भन्न सकिन्छ ।
त्यस्तै थसिको देवननिस्थित गणेशको मन्दिरमा राखिएको राजा योग नरेन्द्र मल्लको अप्रकाशित अभिलेखमा थसि पाटनमा नै पर्छ भनी उल्लेख गरिएको पाइन्छ । जुन यसरी लेखिएको छ – “संवत ८१९ चैत्रमासे शुक्ल पक्ष अस्तम्या तिथि पुनबशुनक्षेत्र शुभजोगे जथाकरणमुहुत्तरे अंगारवास श्री सुवर्णचक्र सिंह तया ।” फेरि गोपालराज वंशावलीको ५१ ख पेजमा थसि र बलम्बु गाउँ पाटनमा नै पर्दछ भनी उल्लेख गरिएको छ । जसलाई– “४६७ आश्विन शुद्धि–३ श्री देवलदेविस व अनखराम महाथस वो जगस्यं मनिगलाया राज काया मुन्हिया, कितपुरि, बलम्बु, चेटकवाठ थसम्प्रिन, ख्वयंप ।।” लेखिएको छ । जस अनुसार थसिको अस्तित्व स ४६७ मा नै भइसकेको थाहा हुन आउँछ ।
२) सानागाउँ ः– यो गाउँ वरिपरी रहेका छिमेकी गाउँभन्दा सानो र बस्ती धेरै पातलो भएको हुनाले सुरुमा सानोेगाउँ र पछि हुँदै गएपछि सानागाउँ हुन गएको मानिन्छ । सानागाउँ भनेर २०२१ सालभन्दा पहिलेदेखि नै नामाकरण गरिएको देखिन्छ । किनकि २०२१ सालमा नापी हुँदा नक्सामा सानोगाउँ लेखिएको छ ।
३) सिद्धिपुर – यस थसि गाउँको मध्य भागमा अवस्थित देवननी टोलमा रहेको सिद्धेश्वर महादेवको नामबाट यस गाउँको नाम “सिद्धिपुर” रहन गएको भन्ने बुझिन्छ । यद्यपि “सिद्धिपुर” भनेर वि.सं. २०२१ साल भन्दा पहिला नै नामाकरण गरिएको भएपनि चलन चल्तीमा सानोगाउँ नै उल्लेख गरिने गरिएको छ । हालको थसिमा बसोबास गरिसकेपछि मन्दिर बनाउका निम्ति जङ्गल फँडानी गरेर जोत्दा पाँच फीट लम्बाईको कालो स्तम्भ फेला प¥यो । स्वयं सिद्ध भएकाले त्यसलाई सिद्धेश्वर महादेव भनेर नामाकरण गरियो । यस्तै यस गा.वि.स.को अट्ख्वाः भन्ने ठाउँमा खेत खन्दा खन्दै एउटा पीठको उत्पत्ति भएको थियो । जुन २०२२÷२३ सालतिर यसै गा.वि.स.को वडा नं. १ मा बस्ने काजीले आफ्नो खेत अग्लो भई सिँचाई गर्न गाह्रो भएकाले ज्यामि लगाएर माटो बोकाएका थिए । त्यस्तै एकरात सपनामा सो पीठको दर्शन गराए । तर विश्वास नलागेकाले थुप्रै ज्यातिषहरुकहाँ गएर माटो देखाउन लगे । सबै ठाउँबाट त्यहाँ पीठ छ भनेर पठाइदिए । त्यसपछि सबै माटो हटाई पीठको उत्खनन् गरेर विधिपूर्वक पूजा गरी बोका बलि दिई दुई दिनसम्म जाग्राम बसेको कुरा उहाँ बताउनु हुन्छ । त्यस समयमा धेरै राम्रा–राम्रा र्मूिर्तहरु रहेको कुरा पनि उहाँले बताउनु भएको थियो । जुन मूर्तिहरुको ठीक समयमा उचित संरक्षण गर्न नसकेकाले सबै मूर्तिहरु चोरी भइसकेका छन्, जुन स्थान हालसम्म पनि वेवारिस अवस्थामा नै छ भने जीर्णोद्धारको पर्खाइमा बसिरहेको छ ।
वरपरको गाउँ भन्दा भिन्नै देखिए पनि यहाँका सार्वजनिक मठ मन्दिरहरु, चैत्यहरु, धर्मधातुहरु, बहालहरु, सत्तल पाटीहरु र पोखरीहरुले यहाँको प्राचीन इतिहास र संस्कारको पहिचान गराइरहेको छ । यस गा.वि.स मा सातवटा पोखरीहरु छन्– १ न्हू पुुखू, २. खाः पुखू, (हाल पुरिसकेको छ, जुन गा.वि.स.को अगाडि थियो) ३. राजमति, ससमाजु, धंसली पुखू (हाल पुरेर पानी ट्यांकी बनाइएको छ, जुन रामढोकामा थियो), ४. भीमसेन पुखू, ५. फ्वंगा पुखू (जहा हाल दीपंकर बुद्धको प्रतिमा स्थापना गरिएको छ), ६. गणेश पुखू (जुन पुरेर यंगलमा क्लब निर्माण गरिएको छ), ७. सःती पुखू (जसलाई २०६२ सालमा सत्य युवा क्लबद्वारा जीर्णोद्धार गरेर पोखरीको बीचमा महादेवको प्रतिमा स्थापना गरिएको छ) । यसैगरी यहाँ निम्न बमोजिम सम्पदाहरु प्नि छन्– १. सिद्धि मंगल विहार, २. गणेश चैत्यहरु, दुई वटा (तःधंननि र पिननिमा) स्तुपाहरु, सार्वजनिक भवन गुठीहरु–६ वटा, कोत घर १ वटा, भीमसेन–धर्मधातुहरु–महादेवहरु–सरस्वती माता पीठ २ वटा ।
Comments
Post a Comment