सिद्धिपुर थसिको बारेमा नयाँ दस्तावेज......
“ थसि , सानागाउँ र सिद्धिपुर : तीन नाउँ , एउतै गाउँ “

कुल क्षेत्रफल ४
हजार ७ सय ८६ रोपनी मात्रै रहेको सिद्धिपुरको कृषीनिर्भर जीबनशैलीको विशेषता
उत्कृष्ट सुकुल बुन्नु रहेको छ | जो ०३० को दशक सम्म काठमान्डौ उपत्यकाको जीबन
शैलीमा अभिन्न अङ्ग नै थियो | गलैचा लगाएत अन्य बिछ्याउने समाग्रिहरू भित्रिएपछी
त्यस्ता सुकुलको प्रयोगमा केहि ह्रास आएपनि हाल बजारको माग अनुसार गलैचा जस्तै
मुलायम र रङ्गीचङ्गी सुकुल र त्यस सम्बन्धी बिभिन्न समाग्रिहरू उत्पादन गरेर
सिद्धिपुरले काठमान्डौ उपत्यकाका साथै रास्ट्रिय र अन्तराष्ट्रिय बजारमा समेत
बढ्दो माग पूर्ति गरिरहेको छ |
आज भन्दा ५० वर्ष
अगाडी वि .स.२०१५ सालमा बेलायतकी महारानी एलिजावेथ दिव्तीएले नेपालको पहिलो पटक
भ्रमण गर्दा उहाको स्वागातार्थ यहाँका जनताले सुकुलको उत्कृस्ट द्वार बनाएका थिए |
जो काठमान्डौ , लाइजिम्पाटको मूल सडकमा राखिएको थियो भने सो त्यति बेला आकर्षणको
केन्द्र भएर निकै चर्चित समेत भएको थियो | वर्तमान सिद्धिपुर गाउँ बहुसंख्यक घर
बाट बैदेशिक रोजगारमा जाने गरेका तथ्यांकका
कारण पनि परिचित छ | जस बाट भित्रिने रेमिट्यान्सले गर्दा सिद्धिपुरका
जनताका आर्थिकस्तर केहि उठानुका साथै जीबनशैलीमा केहि परिबर्तन आएर उद्दोग र
ब्यबसायतर्फ आकर्षण बढेको देख्न सकिन्छ |
मल्लकालीन उन्नत कला
र संस्कृति यहाँ हाल पनि जीवन्त देख्न पाइन्छ | २०६८ सालको फागुनको पहिलो सातामा
आयोजित “ सिद्धिपुर महोत्सव “ का बेला यहाँका घर घरबाट सङ्कलन गरेर प्रदर्शनीमा
राखिएका प्राचिन घरेलु उपभोग्य वस्तुहरू पनि अधिकांश कृषि पेशासंग सम्बन्धित भएर
मल्लकालीन नै देखिएको थियो | काठमान्डौको प्राचिन “दक्षिण कोलिग्राम “ को केन्द्र
मानिने जैसिदेवल ( न्हुघ: ) स्थित सिठ्ठी
द्धयो (कुमार देवता ) र कीर्तिपुरको चोभार डाँडामै अवस्थित प्रसिद्ध आनन्दादी
लोकेश्वर ( आदिनाथ )सित यसै गाउँका
वासिन्दा नेम्कुल थरका मानिसहरूको महत्वपूर्ण सम्बन्ध र प्रचलित परम्पराका आधारमा
पनि यस गाउँको प्राचिन महत्व प्रस्ट झल्किन्छ | ती दुवै देवताहरू पूर्ब मल्लकालीन
रहेको इतिहासकाहरूले उल्लेख गर्ने गरेका छन् | नेम्कुल थर भएका मानिसहरूको थातथलो
सिद्धिपुर नै हो भन्ने कुरामा कुनै शंका छैन |
छिमेकी
गा.बि.स.हरूको तुलनामा थोरै क्षेत्रफल ओगटेर रहेको हुनाले यस गाउँ बिकास समितिको
नाम पहिले “ सानो गाउँ “ रहन गएको थियो भन्ने गरिन्थ्यो |पछी बि. सम्बत २०२१ मा त्यहाँ अवस्थित सिद्देश्वर महादेवको
नामबाट यस गाउँको नामान्करण “ सिद्धिपुर “ का रूपमा प्रचलित रहन गयो पनि भन्ने
गरिएको पाइयो | स्थनीयवासी नन्द बहादुर महर्जन द्वरा लिखित “ संस्कृतिक पृष्ठ भूमिमा
सानागाउँ (थसी) सिद्धिपुर “ ( २०६६ ) पुस्तकमा पनि यस्तै लेखिएको छ | तर आज भन्दा
साढे तीनसय वर्ष पहिले नै तात्कालिन राजा प्रताप मल्लले काठमान्डौको केन्द्रमा
आफ्ना मृतक छोरीको स्मृतिमा आकर्षक रानीपोखरी बनाउँदा त्यहाँ भर्न बिभिन्न स्थानका
तिर्थस्थलबाट ल्याइएका पानी मध्ये एकको नाम “ थस्पीमहातीर्थ “ पनि रहेको उल्लेख
पाइएको छ | जुन भाषा बिकासक्रम अनुसार “ थसी “ को नजिक मान्न सकिन्छ | तथापि यस
तर्फ अझै बिस्तृत खोज कार्य हुनु जरूरी देखिन्छ | प्रचलित किम्बदन्ती अनुसार “ थसी
“ नामको “ सल्लाको रूख “ लाई लिएर बनेको भन्ने
गरिएको छ | जसको कुनै आधिकारिक प्रमाण छैन |
“ थसी ” सिद्धिपुरलाई नेपाल भाषाबाट भनिने पुरानो नाम हो |
हाल भक्तपुरको
रास्ट्रिय कला संग्रहालयमा रहेको ‘ राजा प्रताप मल्लको तीर्थयात्र १६६९ ई.स;’
नामको नेपाल भाषा र लिपिमा लेखिएको थ्याससफुमा उल्लेख रहेको बिबरण अनुसार रानीपोखरी
निर्माण गरिसकेपछि राजा प्रताब मल्लले त्यहाँ पबित्र पानी भर्न देश भित्र र देश
बाहिरका विभिन्न सैयौ कुण्ड ,तिर्थ र नदीबाट पानी ल्याउने क्रममा “ सिद्धिपुर
कोटिलिङ्ग “ बाट पनि पानी ल्याइएको थियो | यसबाट
‘ सिद्धिपुर ‘ उहिले नै प्रचलित नाम थियो भन्ने पुष्टी हुन्छ | हाल
सिद्धिपुर र लुभुको गाबिसको सिमानामा पर्ने लिङ्गेश्वरलाई नै उक्त नामबाट पुकारिन्थ्यो
भनी यस बाट आधार मिल्छ | यस बाट सिद्धिपुरको बर्तमान सीमानाबारे समेत सोच्न बाध्य
पार्दछ | उक्त थ्याससफूको फोटो हाल यस पङ्त्तिकार सित सुरक्षित रहेको छ |यस बारेमा
महेशराज पन्तले “ पुर्णिमा “ १३७ पूरणाङ्कमा केहि चर्चा मात्र गरेका छन् |
अर्को तर्फ सानागाउँ
नामबारे इतिहासका दस्तावेजहरु खोज्दै जाँदा ई.स; १८७७ मा जंगबहादुर राणाको मृत्यु
भएपछी उनका रानीहरूले पन्ध्र –सोर्ह लाख जति रुपियाँको दानपुण्य गरेको विवरण
वंशावलीमा उल्लेख रहेको भन्दै डा.जगदीशचन्द्र रेग्मीले ‘ नेपालको वैधानिक परम्परा
‘(तृतीय संस्करण २०६० ) मा १२ औ बुंदामा ‘ सानागाउँको अठार खेत विर्ता समेत श्री ५
वलिअहद महाराजलाई चढाए ‘ भनि उल्लेख गरेका छन् |
यसैगरी वि.सम्बत
१९६४ सालमा ग्रीवार्णयुद्ध विक्रमको राजयाकालमा हनुमानढोकामा अवस्थिति ठुलो नगरा
सम्बन्धि प्राप्त ताम्रपत्रमा सो नगरा बजाउने गुठीका लागि सानागाउँमा ३० रोपनी
जग्गा राखिएको उल्लेख भएको छ | उक्त ताम्रपत्र हाल नगरा बजाउने नगर्ची संग रहेको
बताइएको छ | उक्त नगरा बडादशैं र चैतदशैँमा बजाउने परम्परा रहेको गौतमबज्र बज्राचार्य द्वरा लिखित ‘ हनुमानढोका राजदरबार
२०३३ ‘ मा प्रकाशित छ |
यस बाट ‘ सानागाउँ ‘नाम
जंगबहादुरकाल भन्दा पहिले नै कायम थियो र त्यहाँ दरबारको विर्ता र गुठीका खेत पनि
प्रशस्तै थियो भने प्रमाणित हुन्छ | राम्रो खेती उब्जनी हुने गरेको सानागाउँको
जग्गा शाहकालमा केन्द्रीयस्तरमै विर्ता र गुठीका लागि प्रयोग गर्ने गरिएको देखिन्छ
| यसरी ऐतिहासिक प्रमाणहरू प्राप्त हुदै जाँदा “ सिद्धिपुर “ नामाकरणको इतिहास पनि
प्राचिन हुदै जाने देखिन्छ | यस तर्फ सिद्धिपुर ,सानागाउँ वा थसिका वासिन्दा ,
अगुवा अनि सचेत बौद्धिकवर्गले गम्भीरतापूर्वक ध्यान दृस्टी पुर्याउदै अनुसन्धानमा जोड दिनु जरूरी छ |
खुसी लाग्यो थसी को बारेमा पध्न पौउदा।धन्यबाद
ReplyDeleteआफ्नो अमुल्य समय दिएर पढ्नु भएकोमा धरै धेरै धन्यबाद
Delete