सिद्धिपुर थसी मा मनाईने धान्य पुर्णिमा (द्दे पुजा

धान्य पूर्णिमा (द्येपचा)

सूर्य उदाउनु अधि देखी नैं (विहानको ४:००बजे देखि ) नै देब नःनी टोलमा अवस्थित गणेश, भैरव र बालकुमारीको मन्दिरहरुमा पुजा गर्ने आफ्नो पालो पर्खि चिसो कठ्रङ्गिने जाँडोलाई सहेर लाइन बसिरहेका हामी देख्छौ भने (ग्वारखेल) मंगल चौरमा अवस्थित कुल देवता डटि टोलमा अवस्थित कुल देवता र अन्य स्थानहरुमा रहेको कुल देवताहरुमा विहानै देखि नै मान्छेहरुको भिड देखिन्छ भने उत्तै न्यानो धामलाई तापेर आफ्नो पालोलाई पर्खि बसिरहेका विभिन्न रङ्गिविरङ्गी लुगा लगाएका देख्छौ भने कोही पुजा सकिएर समय बजि खाइरहेको देख्छौ त कोही त्यही बसेर भोज खाइरहेका देख्छौ यो कुनै राजनैतिक पार्टीको  बन भोज र भेला पनि होइन त्यो थियो सिद्विपुर बासिन्दाहरुको मौलिक तथा परम्रागत चाँड कुलदेबताको पुजा (देपचा) भन्ने गरिन्छ भने नेपालीमा धन्य पूर्णिमा अर्थात नयाँ धानसंग प्रत्यक्ष रुपमा सम्बन्ध भएकोले आजको दिनलाई अर्थात मंसीर शुक्लपक्षको दिनलाई धान्य पुर्णिमाको रुपमा मनाउँदै आएका छन् । यस्तै आफूलाई मनपर्ने रोटी पकाएर खाने दिन भएकोर्ले   योमरी पून्हीको रुपमा पनि चिनिन्छ ।

https://youtu.be/P69V-acS-iI 

पूर्णिमाको अघिल्लो दिन पुरा घरसफा सुग्घर गरि रातो माटोले लिपी, नुहाई धुलाई गरि खानाका बिभिन्न परिकारहरु जस्तै नयाँ धानकुटी त्यसको पिठोबाट चट्टामरी बनाई परिवारको सबै सदस्यहरुसंगै बसि भोजखाने चलन छ जस्लाई छोला बु र क्वा मलिः नयगुः (तातो चटामरी खाने ) दिन भन्ने गरिन्छ । धान्य पूर्णिमाको दिन तिहारको लक्ष्मी पूजाको दिनमा जस्तै सबै बालबच्चाहरु भैैलो खेले जस्तै आज पनि योः मरि माग्न जाने गर्दछन् । योः मरी च्वामु, उ के दुनि ह्यामु–——
धान्य पूर्णिमाको दिन नेवारी परम्परा अनुसार नयाँ धान कुटेर चामलको पिठो बनाई यो मरी विभिन्न आकार प्रकारका देवताहरुको आकृति बनाइ अन्न राख्ने ढुकुटी, प्रत्येक भकारीमा राखी कुमार, गणेश, लक्ष्मी र कुलदेवताको विधिपूर्वक पूजाआजा गरी चढाउने गरिन्छ । यदि आफुहरु आफ्नो जान (कुटुम्ब) बाट छुट्टिएको छैन भने कुटुम्बको थकालीको घरमा कुल देबताको लागी पुजा समाग्रीहरु पुर्याउनु पर्छ । सबै कुटुम्बहरुको पुजा समाग्रीहरु आई सके पछि थकाली अरु कुटुम्बहरु आआफ्नो कुल देबता भएको ठाउँमा देबतालाई खर्पणमा बोकेर लाने गर्छ । आजको दिन पुरा गाउँ भरिकै बासिन्दाले मनाउने भएकोले कुल देबताको पर्खि बसिरहनु पर्छ । कुल देबतालाई आज हाँस र हाँसको फुल (अण्डा) बलि चढाईने गरिन्छ भने पुजा सिद्धिसके पछि त्यहि बसेर समय बजि खाने चलन पनि छदैछ । कोही त्यही बसेर भोज खाने गरिन्छ । त्यहाँ बाट फर्केर पालाको घरमा गइन्छ र त्यस्तै तिन चार बजे तिर सम्पूर्ण परिवारजनहरु मिलेर भोज खाने चलन छ । यहाँ पनि गुठीमा जस्तै ९ वटा बोक्सा (गुःताःबोक्सा ब्वेः गुः) देखाउने चलन छ । पालु (अदुवा), मुस्या (भटमास), भुटि (बोडे), मस्र्या (मस्याङ्ग), खेपि, वाम्चा (साग), चपि र कमलोसा (केराउबाट बनाएको अचार) धान्य पूर्णिमाको एउटा विशेषता यो छ कि बर्षभरि कोही कसैको विवाह भएको छ भने आजको दिन कुल देबताको मन्दिरमा ल्याइ विधिपूर्वक पुजा गरि भित्रयाइन्छ । जसलाई भित्रयाउन सम्पूर्ण काम थकालीनीले गर्छिन र यदि एक वर्ष भित्र या छ महिनामा कसैको नवजात शिशुको जन्म भएको छ भने आजको दिन कुल देवताकहाँ ल्याई पूजा गरी भित्राउनु पर्छ । यसरी भित्राउँदा पूजा समान बेहुलीको घरबाट ल्याउनु पर्छ भने नव जात शिशुको लागि आफ्नै घरबाट लानु पर्छ । यसरी गर्नुको मतलब हुन्छ अर्कै खलका या कुटुम्बका छोराछोरीहरुलाई (बेहुली) आज देखि आफ्नो खलकमा सदस्यता प्रदान गरी विवाह दर्ता गरे जस्तो हो भने नवजात शिशुको जन्म दर्ता गरे जस्तै खलकमा नाम लेखाउनु सरह हो । यदि विधि पूर्वक विवाह नगरी भगाइ ल्याएको छ भने देपचा (धान्य पूर्णिमा)को  केहि दिन अगाडि नै सबै कुटुम्बहरुलाई जिनभ्वे भोज खुवाउनु पर्छ भने नवजात शिशुलाई भित्राउनु केही दिन अघि कुटुम्बहरुलाई मुःचाः क्वाटी पिलाउने भनेर कुटुम्बहरुलाई भोज खुवाउनु पर्छ ।
भेषभुषा खानामा, कला, धर्म, संस्कृति, परम्पराका धनी भनेर हामी नेवारीहरुलाई भन्ने गरिन्छ, हाम्रा पूर्वजहरुको अठक मेहनत र योगदानको कारणले गर्दा आज हामी नेवारहरुको छुट्टै पहिचान छ, इज्जत छ, इतिहास छ । त्यसमा सबै नेवाहरुलाई गर्व नै लाग्छ । यस्तै प्राचिन समयको धर्म, संस्कृति, परम्परा रितिरिवाज, चाडपर्व र कलालाई जिवित राख्नको लागि नेवारी समाजमा प्रचिन समयदेखि नै अलिखित रुपमा विभिन्न किसिमका नितिं नियम र कानूनहरुको ब्यवस्था  गरिएको पाइन्छ । पूर्वजहरुको एउटा शब्दको भरमा आजका पिढीहरुसमेत ति नियम र कानुनहरुलाई मान्दै आइरहेका छन् । नेवारी समाजका ति निति नियमहरुलाई लिखित रुपमा समयअनुसार परिवर्तन गर्न नसक्नु ठूलो दुर्भाग्य हो । थुप्रै यस्ता पूर्वजहरुका निति नियम र कानूनहरु दुर्भाग्यको शिकार बनिसकेका छन् । जस्मा जन्मदर्ता र विवाह दर्ता पनि एक हो । साँचै भने हो भने जन्म दर्ता र विवाह दर्ताको लिखित कानुन २०३२ साल देखि सुरु भएको देखिन्छ भने हाम्रा पूर्वजहरुले प्राचिन समयमा नै बनाइसकेको थियो । जुन अलिखित भएर खाली मुखको बोलीमा मात्र सिमित भैरह्यो । कसरी भने, जसरी अहिलेको लिखित कानुन अनुसार नवजात शिशु जन्मेको ६ महिना भित्रमा जन्म दर्तागराएन भने जरिवाना लाग्छ त्यस्र्तै नेवारी समाजकोअलिखित नियममा यस्तो छ नवजात शिशु जन्मेको छ महिनामा कित दशैमा (कुछि भ्वय)मा भाग हाली भित्राइन्छ भने धान्य पूर्णिमाको दिन विधिवत रुपमा पूजागरी भित्राइन्छ । छ महिना भित्रमा भित्राउँदैन र मुचा क्वाँटी पिलाउँदैन भने त्यो नवजात शिशुले स्वतः आफ्नो कुटुम्ब (कुल खलक) बाट निस्कासन गरिएको मानिन्छ । बच्चाको शुभकाम होस् या अशुभकाम होस् कोही कुटुम्बहरु जाँदैन । यो एउटा नेवारी समाजको अलिखित नियम भित्रको जरिवाना तिराएको सरह हुन्छ भने उक्त लिखित कानुनमा निश्चित समय भित्र विवाह दर्ता गरिएन भने जरिवाना लाग्छ त्यस्तै नेवारी समाजमा यदि भगाइएको भए कुटुम्बहरुलाई जिना भ्वय् (भोेज) खुवाएर, कुटुम्बको थकालीले सुपारी (ग्वे मकायकं) नलिए सम्म त्यस कुटुम्बले बुहारीको मान्यता दिंदैन र धान्य पूर्णिमामा उसलाई कुल देवताकहाँ भित्राइदैन र आफ्नो कुटुम्बबाट बाहेक गरिन्छ । कुल देवताको नभित्राइनु नै लिखित कानुनको जरिवाना तिराउनु सरह हो । नेवारी परम्परा अनुसार वर्षको १ चोटी विवाह दर्ता र २ चोटी जन्म दर्ता      गरिन्छ । जुन दशैको कुछिभ्वय् खाने दिन र धान्य पूर्णिमाको दिन ।
यदि कुटुम्बहरु या जानहरु संग छुट्टिसकेको छ भने यि सबै गरिदैन । सिधा गएर कुलदेवताकहाँ पूजा गरायो घरमा आई भोज खायो बश । भोज खानु अघि टिका लगाई प्रसाद ग्रहण गरी बुहारीहरुले थकाली देखि कुटुम्बको सबै सदस्यहरुलाई (आफू भन्दा थकालीहरुलाई) ढोग्नु पर्ने चलन छ भने गुठीमा जस्तै यहाँ पनि थकालीहरुलाई भावपूर्ण मानसम्मान र आदर गरिने चलन अर्थात शि काबु गर्ने गरिन्छ । शिःकाबुः गर्दा थकालीलाई हाँसको टाउको, क्रमशः दाहिने पखेटा, बायाँ पखेटा, दाहिने खुट्टा, बाँया खुट्टा र बाँकीलाई प्रसाद सरि एक एक पिस टुक्रा मासु दिइने चलन छ । द्ये ब्वमा थकालीले पानी नहाले सम्म कोही पनि उठ्न पाउँदैन ।
धान्य पूर्णिमाको अन्तिम दिन बिहानै देखि पालाको घरमा सबै कुटुम्बहरु आइसकेको हुन्छ मासुको थलथले लिन । यहि समयमा खाली कुटुम्बहरुमात्र बसेर भोज खाइन्थ्यो तर अहिले खाली देवतालाई चढाइसकेपछि उठाएर घर घरमा लगिन्छ । खाना खाएर पुनः सबै जना ल्हासा तिर्न आउँछन् चिउरा, जाँड र पैसा, आज आज धेरै काम हुन भएकोले फुर्सद भएको मान्छे त्यही बसी काम गर्ने र पिउने गर्छ । यस्तै बेलुकी तिर सबै जना पुनः जम्मा गरी भोज खाइन्छ । भोजको अन्तमा अर्को वर्ष पालो पर्नेलाई थकालीले दियो बाली पाची ब्व (लहलहाना बी ) दिने गरिन्छ र एकछिन पछि थकालीहरु र पालाहरु कुल देवतालाई लिएर अर्को वर्ष पालो पर्नेको घरमा लाने गरिन्छ । यसरी जाँदा दियो बालेर जाने गरिन्छ ।                                         यसले के शिक्षा दिन्छ भने हामी एकै आमा बुबाका सन्तान हौ सधैं यसरी सामुहिक रुपमा मिले बस्नु पर्छ, खानु पर्छ । यो भोज गुठ्ठी (श्री पञ्चमी) अघिको ठूलो सामुदायिक (वंशज)को भोज मानिन्छ । जसमा सहभागि सबैजनाले समान रुपमा खर्चको भागिदार हुने गर्दछ । यस भोजले आफ्नो वंशको प्रतिनिधित्व गर्ने गर्दछ र आफन्तहरुलाई चिनाउने गर्दछ । धान्य पूर्णिमाको दिन गरिने दुई तिन वटा कार्यहरु अलि चाखलाग्दा छन् । पूर्णिमाको दिन कुल देवतालाई पूजा गरी सकेपछि घःवा खलकहरुले कागलाई एक भाग राखिदिन्छ र कागले नखाएसम्म समय बजी या भोज नै खाँदैन । कागले नखाएमा त्यस घःवा खलकमा ल्याएको नयाँ बुहारी अल्छिना मानिन्छ । तर यो कुरा अन्धविश्वास लाग्छ किनभने पहिला पहिला हालको मंगल चौरको खुल्ला ठाउँमा कुल देवताको स्थापना गरिएको थियो । त्यो बेला घरहरु केही नभइ खुल्ला रहेको सहजै अनुमान गर्न सकिन्छ । त्यो समयमा पूजा गरिसकेपछि समय बजी या भोज खान लाग्दा अकस्मात कागले खाएको हुन सक्छ र पूजा गर्ने ब्यक्तिले सोच्यो कि समय बजि या भोज खानु अघि कागलाई खुवाउनु पर्ने रहेछ, सोही बेलादेखि चलन चल्तीमा आएको देखिन्छ । अनि पछि मात्र बस्ती भइसकेपछि कागहरुले लिन आएन र नयाँ बेहुलीहरुलाई आरोप र लालछनाहरु लगाइएको देखिन्छ । यस्तै यलम्बु खलकहरुमा पनि पूर्णिमाको दिन स्यालले छोएपछि मात्र भोज खाने चलन चल्ती छ । र आज भोली स्याल नआएकोले काठको स्याल बनाएर कुल देवताको लाने गरिन्छ । यसको चलन यसरी चलेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । हालको दती भन्ने ठाउँमा पहिला पहिला ठूलो जंगल थियो त्यही जंगलको विचमा कुल देवताको स्थापना गरियो । जंगल भनेपछि स्याल आउने त पक्का नै भयो त्यसमा फेरी खुल्ला ठाउँ पूजा गरिसकेपछि भोज, समय बजी राख्दै जाँदा अकस्मात स्यालले खान आयो होला र सोच्यो होला हामीले भोज खानु भन्दा पहिले स्याललाई खुवाउनु पर्ने रहेछ । त्यहि चलन दोहोरिदै आइरहेको हामीले अनुमान गर्न सक्छौं । हिजो आज जंगल मासिँदै जानु बाटो फराकिलो गरिएकोले स्यालहरु स्वतः लोप हुने त भैहाल्यो त्यसपछि ल अब त भएन भनेर काठको स्याल बनाइ भोजको दिन कुल देवतासम्म लाने गरिन्छ  र स्याललाई छुवाइसकेपछि मात्र भोज खने चलन हालसम्म पनि छदैछ ।
लात फ्येगु भनेर नयाँ दुलहीलाई दुइ हातमा चटामरी दुइवटा दिइन्छ । त्यसमाथी भलिंले एक डल्ला मासुको थलथले हालीदिन्छ यदि थलथले खस्यो भने त्यो दुलही नराम्रो ठान्छ । यो चलन यसरी चलीआएको मान्न सकिन्छ, पहिला पहिला धान्य पूर्णिमाको भोजको बेला जाँड, रक्सी टन्न पिइसकेपछि गरेको निर्णय जस्तो देखिन्छ । कुटुम्बको एक खलकले नयाँ दुलही ल्याएको हुनसक्छ जुन नयाँ दुलहीलाई मन नपर्ने व्यक्ति पनि रहेछ । सोही व्यक्तिले जाँड रक्सीको नसामा नयाँ दुलहीलाई लात फ्येकीमा भनेको हुन सक्छ । यो भनाई पनि अन्ध विश्वास लाग्छ । किनभने जति पनि बलवान मान्छेको हातमा दुइवटा चटामरीमा मासुको थलथले एक ढिक्का अचानक वस हाल्दा त्यो अवश्य पनि खस्छ । त्यसैले यसबाट दुलही राम्रो नराम्रो सावित गर्दैन । यसबाट के थाहा हुन्छ भने आफ्नो रिस र प्रतिशोधको बदला लिने एउटा बाटो मात्र बनाएको देखिन्छ । यद्यपी यो तीन वटा भनाइ कुनै लिखित रुपमा छैन तर पनि हालसम्म यो चलन रहिरहेको छ । यो खाली अनुमान मात्र हो ।
पूर्णिमाको चौथो दिनमा ढुकुटी अन्नको भकारीमा रहेको विभिन्न प्रकारका देवताहलाई पूजा गरी निकालीन्छ ।जसलाई नेवारीमा( मलीः कवा कायेगु) भन्ने गरिन्छ । सबै परिवार जनलाई प्रसादको रुपमा खवाउने गरिन्छ । पूर्णिमाको दिन देखि चार दिनसम्म अर्थात विधिपूर्वक पूजा गरि भकारी, ढुकुटीमा राखिएको चामलको पिठो बाट बनाइएको विभिन्न आकार प्रकारका देवताहरु ननिकाले सम्म लसुन छ्यापे, कुखुराको मासु आदि इत्यादि खानु हुदैन भन्ने भनाइ रहि आएको पाइन्छ । यो पर्व कहिले देखि मनाउन थालिएको हो त्यसको यकिन भएको छैन तैपनि सात आठ सय वर्ष पुरानो मानिन्छ । यस सम्बन्धी दुइवटा किंबदन्तीहरु यस प्रकार छन् ।
१. आदिकालमा पञ्चाल देश (हालको पनौती) निवासी सुचन्द्र धनाध्य साहुको घरमा कुबेर एक दिन विहान दरिद्र व्यक्तिको भेष धारण गरि हातमा एउटा विमिरो लिइ माग्न गएछन् । साहुको पत्नीले आफ्नो घरमा माग्न आएको देखेर हत्तनपत तल गएर स्वागत र सत्कार गरी घरमा लगेर नयाँ नयाँ लुगाहरु लगाउन दिएर सम्मान पूर्वक अनेकौं परिकारहरु खान दिइन । भेषधारी कुवेर उनीदेखि धेरै खुशी र प्रशन्न भए र आफ्नो सक्कली रुप देखाउनुभयो र अन्तमा योमरीको महिमाको बारेमा बताउँदै अन्नको भकारी, ढुकुटीमा योमरी र विभिन्न आकार प्रकारका देवताहरु बनाइराखेर पूजा गर्नाले कुबेर, लक्ष्मी, गणेश खुशी भइ धनधान्य बढ्ने छ भनेर कुबेर राजा अन्तरध्यान भए । सोहि अनुसार स्थापना गरी विधि पूर्वक चार दिनसम्म छोपेर राखी पूजा गरिन चार दिनपछि निकालेर प्रसादको रुपमा आफन्त र इष्ट मित्रहरुलाई बाँडे र आफूहरुले पनि खाए । उक्त कार्यको प्रभावले महाजनको घरमा जति जति खर्च गर्यो त्यति त्यति नै बृद्धि भएर आउन थाल्यो । सोहि बेला देखि आजको दिन परम्पराको रुपमा चलिआएको मानिन्छ । यसरी भकारीमा हाल्नुको अर्थ संञ्चय गर्नु पर्छ भनेर सिकाएको हो भन्ने बुझिन्छ ।

२. आज भन्दा एक दुई हजार वर्ष पहिले काठमाण्डौं उपत्यकामा खनजोत गर्न नहुने र गरेमा भुमिदेवता रिसाएर अशुभ हुन्छ भन्ने धारण थियो । यस्तै एक जनाले जे परे पर्ला भनि बाँझो जमिनमा उब्जनीको लागि खनजोत गरेर अन्न उब्जाए तर त्यो व्यक्तिलाई केही भएन उसैको सम्झनामा मुर्ती बनाइयो र सोही मूर्तीमा पूजा गरेर योमरी चढाउन थालीएको हो भन्ने भनाइ पनि रहि आएको पाइन्छ ।

Comments

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी