हो हो रे हो हो हो
हो हो रे हो हो हो
रातोलाई भन्नु त्यो रातो माटो पहेंलो बेसार
एता नी पानी उता नी पानी लागे छ असार
हो हो रे हो हो हो
हो हो रे हो हो हो
कालो मेघको खास्टो ओढेर प्रकृतिले जब झमझम बर्षा बर्षाउन थाल्छिन् अनि सुरु हुन्छ किसानहरुको महान पर्व असारे रोपाइँ । मुठी खाएर मुरी उब्जाउने सिर्जनाको याम हो असार, कामको चटारोले क्लान्त भए पनि मन नथाक्ने उत्साहको याम हो असार । त्यसैले त असारे निर्झरमा रुझेर हरेक बर्ष किसानहरु रोपाइँको आनन्द लुट्ने गर्दछन् । भनिन्छ असारमा रुझ्नुको आनन्द किसानहरुलाई मात्र थाहा हुन्छ । 
असार नेपालीहरुको निम्ती सांस्कृतिक रुपले पनि त्यतिकै महत्वपूर्ण छ । असार र रोपाइँसँग जोडिएको सांस्कृतिक सम्बन्धलाई केलाउने हो भने हामी भन्न सक्छौं-असार एकता सद्भाव र सहयोगको पर्व पनि हो । असारे रोपाइँमा छिमेकीहरु पर्म लिने दिने गर्दछन् । एक दिन एक घरको रोपाइँमा गाँवै उल्टिन्छ अर्को दिन अर्को घरको रोपाइँमा सबैजना त्यसैगरी पुग्छन् । छर-छिमेकी बीचको यस्तो सम्बन्ध अरुबेला बिरलै देख्न पाईन्छ । अर्कोतिर असारको बेग्लै चिनारी पनि छ, नेपाली संस्कृतिमा । हली र बाउसेले आफ्नो काम सकेपछि असारे भाकामा गीत घन्काउँदै रोपाहारहरु हिलोमा धानको गाभो गाड्न थाल्छन् । असारमा गाइने गीतको लय बेग्लै हुन्छ । यस्तो गीत गाउनको निम्ती असार नै आउनु पर्छ, रोपाइँ नै पर्खनु पर्छ । 
कवि साहित्यकारहरुको लागि असार महत्वपूर्ण याम हो । प्रकृतिका अनुपम बान्कीहरुलाई नजिकबाट नियाल्न असारभन्दा अरु महिना फिक्कानै लाग्छन् । संवेदनशिलतानै कवि साहित्यकारहरुको गहना हो । संवेदना त्यती बेला ओईरो लाग्छ-जतिबेला प्रकृति र मानबबीच अनौठो सम्बन्ध कायम भएको होस् । त्यसैले त असारको बारेमा धेरै कविताहरु कोरिएका छन्, असारे भाकामा थुप्रै गीतहरु लेखिएका छन् । उपन्यासका पात्रहरुले थुप्रै ठाउँमा हिलोछ्यापी खेलेका छन् र संस्मरणहरुमा लेखकहरु बाउसे बनेका छन्, रोपाहार भएर धानको गाभो गाडेका छन् हिलोमा । अझ असार प्रणयको सूत्रमा बाँधिदिने याम पनि हो भन्दा फरक नपर्ला । यौवनको खुट्किलो उक्लन्दै गरेका युवायुवतिहरु धेरैले असारे रोपाइँबाटै मायाको माखेसाङ्लो बुनेको कथा किसानहरुमा सस्तै पाईन्छ । हिलोछ्यापी होस् वा गह्रामा खाल्डो खनेर रोपाहारलाई डुबाउने खेल-प्रणयकै प्रारम्भिक विन्दु हुन् 
किसान त्यो वर्ग हो जसले मानव समुदायको प्राण बचाएको छ । संसारको मैहुँ भन्ने मान्छेले खाने खुराक किसान कै पौरख हो । किसान कै पौरखमा संसार चलेको छ । यो हिसाबमा हेर्ने हो भने किसानहरु सबैभन्दा आदरणीय छन्, पूजनीय छन् । किसान धर्तिपुत्र हुन् धर्तिसँग उनको नङ मासुको सम्बन्ध छ । धर्ति न किसानबाट अलग हुन्छ न किसान धर्ति बिना बाँच्न सक्छ । युगौंदेखि किसान र धर्तीको यही सम्बन्ध कायम हुँदै आएको छ । तर युगले किसान र धर्तिलाई अलग्याउने प्रयत्न नगरेको होईन-गरेको हो । औधोगिक क्रान्तिले धर्तिको धेरै पाटोलाई किसानबाट खोसेर लग्यो, धेरै किसानहरुलाई औधोगिक मज्दुर बनायो । त्यही क्रान्तिले यस धर्तिका केही मान्छेहरुलाई अरवपति-खरबपति बनायो । ती खरबपति-अरबपतिहरुले किसानबाट धर्तिको स्वामित्व खोसे-खोस्ने क्रम जारी छ । संसारको हालत यही छ-यसधर्तिका सच्चा धर्तिपुत्रहरु धर्ति विहिन छन् । आफ्नै धर्तिमा ज्यादारी मज्दुर बनेर असारे रोपाइँ गरिरहेका छन् तर मंसिरमा धर्तिसँग साईनो न सम्बन्ध भएकाहरुको भकारीमा अन्न घोप्टिन्छ । सिर्जनाको याम असार त्यसैले त कहिले काँही विद्रोहको आवाज असारे गीतको भाकामा निस्कने गर्दछ ।
हो हो रे हो हो हो
हो हो रे हो हो हो
छुपुमा छुपु धान है रोप्नु असारे मासैमा
कतिन्जेल खन्नु साहुको खेत सुखको आसैमा 
हलीले साउछ हल गोरु हो हो बाउसेले साउदैन
पुरानो रिती नतोडी हाम्रो अधिकार आउँदैन
हो हो रे हो हो हो
हो हो रे हो हो हो
जहाँ मन लगाएर काम गरिन्दैन त्यहाँ उत्पादन क्षमता अनुसार हुँदैन । नेपालको कृषि प्रणालीले एकातिर आधुनिकता अपनाउन सकेको छैन, अर्कोतिर जमिन जोत्नेको नहुँदा उत्पादन भने अनुसारको भईरहेको छैन । यतिबेला पहाडी क्षेत्रमा त उत्पादन ह्रास हुने क्रम अत्याधिक छ, कारण हजारौं जमिन बाँझिएर बसेको छ । नयाँ पुस्ताको सहर पस्ने र बिदेशिने प्रवृति बढेकोले जमिन बाँझै रहेर उत्पादनको क्षमता ह्रास हुनु परेको हो । आज गाउँमा हलो जोत्ने र बाउसे गर्ने युवाहरुको खडेरी छ । उमेरले डाँडो काटिसकेका हजुरबाहरुको हातमा हलगोरु र कोदाली थामिएको छ । घरले जा जा बनले आईज आईज भन्ने उमेरमा हलो कोदालो गरिरहेका हजुरबाहरुलाई रोपाइँको के महत्व ? हिलो छ्यापेर हौस्याउने बाउसेहरु नै नभएपछि रोपाहारहरुलाई असारे गाउने के को जाँगर ? असार पन्ध्रले दही र चिउरा नबिर्से पनि रोपाइँले बेठी बिर्सिसक्यो 
। रोपाहारहरुले धानको बिऊ हिलोमा गाड्न नबिर्से पनि असारे भाका भुली सक्यो । जहाँ रोपाइँ छ त्यहाँ असारे भाका नगुन्जिए पछि कवि र साहित्यकारहरुको सिर्जनामा असार हराईसक्यो । 
साहित्य बर्तमानको दर्पण मात्र होईन भविश्यको खोज पनि हो । जुन साहित्यमा परिवर्तनको आवाज हुँदैन त्यसलाई साहित्यको दाँजोमा राख्न पनि भुल हुने छ । नेपाली साहित्य यर्थातताको सेरोफेरोमा रुमल्लिएको धेरै भयो, यहाँ माया-पिरतीका सस्ता शब्दहरुले धेरै किताबका पानाहरु रङ्गिए, परिवर्तनको नाममा बिभिन्न बाद र धाराहरुको ओईरो लाग्यो, । देश राजनीतिक रुपमा परिवर्तन भएको छ वा हुँदैछ यो परिवर्तनले आर्थिक सांस्कृतिक र समाजिक परिवर्तन गर्नु पर्ने दायित्व बोकेको छ । यो परिवर्तनमा कवि-साहित्यकारहरको अमूल्य योग्दानको खाँचो छ । नेपालको भविश्यनै कृषिसँग गाँसिएको हुनाले प्रथमतः सिर्जनाको पाटो कृषिसँगै जोडिनु पर्दछ । अब असारको दबदबे हिलोमा पानीका थोपाहरु बर्सिदा उत्पन्न हुने संगितमा सर्जकहरुले सिर्जना खोज्नु पर्दछ । धर्ति पल्टाएर सुन फलाउने किसानहरुको अनुकुल आफ्नो सिर्जनाको विषयवस्तु रोजिनु पर्छ । असारमा कविताहरु र कविताहरुमा किसानका अधिकारहरु कोरिनु पर्दछ । सर्जकहरुले असारे भाका र असारे भाकामा परिवर्तनका आवाजहरु गाईनु पर्छ । असारका कथाहरु र कथामा किसानका भविश्यहरु लेखिनु पर्छ । कृषिलाई आधुनिकिकरण नगरेसम्म र जमिन जोत्नेको नबनाएसम्म राष्ट्रको उन्नती केवल कल्पना मात्र हुने छ । राष्ट्रको हित सोच्ने वास्तवमा सर्जकहरु नै हुन् अब लेखौं परिवर्तनमूखी असारे गीत र गाऔं हरेक असारमा …॥
हो हो रे हो हो हो हो
हो हो रे हो हो हो हो
हली है दाइले हलगोरु सायो खेतको आलीमा
गणतन्त्र ल्यायौं लोकतन्त्र ल्यायौं यसै र पालीमा

पानी है परे रिमी र झिमी लागौंला कतै ओत
जसले खन्छ जसले जोत्छ उसैको हुन्छ पोत

आलीमा मास गोडेर सानु सेउलाले छोपौंला
हरियो बिउमा सुन फलाउने सपना रोपौंला

गह्रामा पानी जलथलै भयो खोलिदेउ निकास
काँधमा काँध मिलाई देशको गरौंला बिकास

हल गोरु सायौं असारे गायौं ढल्कियो हेर दिन
पसिना खेतमा बगाउन अब नमानौ लाज घिन

गहिरी खेतको यो भेट हजुर हुन्दैन हम्मेसी
भविश्य आफ्नै माटोमा खोज्न फर्क है परदेशी ।
हो हो रे हो हो हो
हो हो रे हो हो हो 

Indra Narthunge( ईन्द्र नर्थुङे ) ले असारको बारेमा लेख्नु भएको लेख...................................

Comments

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी